खण्डग्रास सूर्यग्रहण: काठमाडौँबाट भने ८८ प्रतिशतसम्म देखियो ग्रहण !

काठमाडौँ – आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

ग्रहणका बेलामा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिने शास्त्रीय मान्यताअनुसार राजधानीमा गोकर्णेश्वरको उत्तरवाहिनी, बेत्रावतीको उत्तरगया, देवघाट, त्रिवेणीधाम, रिडीलगायत स्थानमा मानिस पुगेका थिए । कोरोनाको डरका कारण भौतिक दूरी कायम गरी स्नान गरेको दृश्य देखिन्थ्यो । कतिले भने घरमै स्नान गरेका छन् । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको थियो । वैज्ञानिक मतअनुसार भने ग्रहणअघि र ग्रहणका बेलामा पनि खान हुँदैन भन्ने कुनै आधार नभएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिएको थियो । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म देखिएको खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यले बताए।

आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको पनि उनले बताए।

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको थियो । यहाँ सुरक्षितरुपमा ग्रहण हेर्न मानिस आएका थिए । सोसाइटीले पनि युट्युब च्यानलबाट ग्रहण प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१२:११

विदेशी महिलाले ७ वर्षपछि नागरिकता पाउने व्यवस्था सहितको विधेयक बहुमतबाट पारित