काठमाडौँ – नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले कोरोना हाच्छ्युँ गरेर निको हुने भए अर्बौं किन खर्च गरियो भनेर प्रश्न गरेका छन्।
कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै उनले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भनेर प्रश्न गरेका हुन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्ने प्रश्न राखे।
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उनलाई भ्रममा पारेको र त्यसकै आधारमा प्रधानमन्त्रीले पनि नेपाली जनता माझ भ्रम छरेको उनको आरोप छ।
“कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खवरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाच्छ्युँसाच्छ्युँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?”,उनले भने।
प्रमाणित नै नभएका कुरालाई प्रधानमन्त्री जस्तो व्यक्तिले पटक-पटक सुनाउनु ठीक नहुने उनको भनाई छ।
के भनेका थिए ओलीले ?
केहि समय अगाडी प्रधानमन्त्रीले राष्ट्रियसभामा कोरोना भाइरसलाई रुघाखोकी जस्तै मान्नुपर्ने बताएका थिए। ओलीले कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ भन्ने उनको भनाई थियो।
“कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन।”,प्रधानमन्त्रीले भनेका थिए।

