पार्टी एकीकरण गरेकोमा प्रचण्डलाई पछुतो हुँदै: भने- “यस्तै ताल रहे नेकपा विघटन हुन सक्छ”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा विघटन हुन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले पार्टी भित्रका समस्याको समयमै सम्बोधन गर्न नसकिए नेकपा विघटन हुन सक्ने खतरा रहेको बताएका हुन्।

स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताएका छन्। उनले अहिलेको भद्रगोलकै अवस्था रहिरहे दुर्घटना हुन सक्ने बताएको बुझिएको छ।

बैठकमा सहभागी नेकपाका स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था उत्पन्न भएको समेत बताएका थिए।

पार्टी एकता गर्ने समयमा कुनै मोर्चा बनाएर अगाडी बढ्ने सुझाव आएको उल्लेख गर्दै प्रचण्डले त्यसै गरेको भए ठीक हुन्थ्यो की भन्ने भनाई राखेको बताइएको छ। यधपी उनले पार्टी एकताबाट पछि भने नहट्ने स्पष्ट पारेका थिए।

यस्तै प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताएका थिए। बैठकमा सहभागी नेताहरुका अनुसार प्रचण्डले बहुमत एक व्यक्तिका लागि नभई नेकपाका लागि आएको तर्क गरेका थिए।

प्रचण्डले पार्टी र सरकार दुवैमा ओलीको एकछत्र दबदबा बढेको तर्फ संकेत गरेको बैठकमा सहभागी नेताहरु बताउँछन्। प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर गल्ती भएको संकेतसमेत गरेको नेताहरु बताउँछन्।

प्रकाशित : बुधबार, असार १०, २०७७१३:२०

कर्णालीमा समुदायसम्म फैलियो कोरोना