“निजी स्कुलका शिक्षक बाँच्ने अवस्था रहेन‚ राहत दिऔं”

काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले निजी क्षेत्रका शिक्षकहरुका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन्।

बिहिबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा उनले लकडाउनका कारण निजी विद्यालयका शिक्षकहरु ठूलो समस्यामा परेको भन्दै राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरिन्। तत्काल राहात प्याकेज घोषणा गर्न शिक्षा र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइन्।

निजी क्षेत्रका झण्डै १० हजार विद्यालयमा २ लाख शिक्षक कार्यरत रहेको र उनीहरुले चैतदेखि नै तलब पाउन नसकेको तर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्।

“हामीले उद्योगधन्दा, पर्यटन सेवालाई पुनर्उत्थान गर्ने भनेर राहातका प्याकेज ल्याएका छौं। शिक्षकहरुलाई कसरी बचाउने र यो पेशालाई कसरी मर्यादित बन्न दिने भन्ने कुरामा केही भएको देखिँदैन।”,उनले भनिन्।

पहिला नाफा कमाएका विद्यालयले अहिले आपत् परेका बेला आफ्ना कर्मचारी, शिक्षक, घरभाडा लगायतको खर्च धान्न सक्ने भएपनि धेरै विद्यालयको भने त्यस्तो अवस्था नरहेको उनको भनाई छ।

“कतिले हिजो राम्रैसँग नाफा कमाएका छन्। नाफा कमाएका विद्यालयले अहिले आपत् परेका बेला आफ्ना कर्मचारी, शिक्षक, घरभाडा लगायतको खर्च धान्न सक्लान्। तर, कतिपय विद्यालय आय-व्यय बराबर हुनेगरी सञ्चालनमा छन्।”,उनले भनिन्।

शिक्षकहरु बाँच्‍न नसके विद्यार्थीको पढाइ बाँच्ने उनको बुझाई छ। उनले भनिन्,”शिक्षकहरु बाँच्‍न सकेनन् भने विद्यार्थी पनि बाँच्दैनन्, उनीहरुको पढाइ बच्दैन्। त्यो नबाँचे देश कसरी समृद्ध बन्छ?यो अप्ठ्यारो अवस्था हो। सरकारले सबैलाई एउटै तरिकाबाट राहात दिन नसक्ला, तर केही न केही गृहकार्य गरेर राहत प्याकेज ल्याउन सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रकाशित : बिहिबार, असार ११, २०७७११:१८

सर्वोच्चले भन्यो – “संसद्‍मा हिन्दी भाषा किन बोलियो, कारण देखाउनु”