काठमाडौँ – चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएपछि सरकारले स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो।
अस्तित्वमा नै नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा समाचार सम्प्रेषण भएको प्रति आपत्ति जनाउँदै मन्त्रालयले चीनसँग कुनै पनि सीमा विवाद नरहेको स्पष्ट पारेको छ। कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रको भनाई छ।
समाचारमा हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयको दावी छ। चीन र नेपाल बीच प्राकृतिक सीमा रहेको हुँदा कुनै पनि स्तम्भ निर्माण नगरिएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
“दुई देशबीचको सम्बन्धलाई प्रभाव पार्न सक्छ। नेपाल र चीनबीचको १९६१ मा अक्टोबरमा सीमाको रेखांकन गरिएको थियो। दुई देशबीचको सहमतिविपरीत कहिले पनि सीमांकन गरिएको छैन। केही समस्या भएमा नेपाल सरकार र चीन सरकारका अधिकारी एक आपसमा बसी समस्याको समाधान गरिन्छ।”,विज्ञप्तिमा भनिएको छ।
हाल चीनसंग कुनै पनि सीमा विवाद नरहेको भन्दै मन्त्रालयले सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि स्पष्ट पारेको छ।
साथै सीमा सम्बन्धि समाचार प्रमाणीकरण गरेर मात्र सम्प्रेषण गर्न परराष्ट्रले आग्रह गरेको छ।