काठमाडौं । नेपाल विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढि संक्रमित देशको सूचिको ७१ औं स्थानमा रहेको छ । माघ ९ गते पहिलो संक्रमणमा देखिएको नेपालमा असार ११ गतेसम्म आउँदा ११ हजार संक्रमित नाघेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
अमेरिकामा रहेको जोन्स हप्किन्स युनिभर्सिटीले संकलन गरिरहेको तथ्यांक अनुसार नेपाल विहिवार बेलुकासम्म ७१ औं स्थानमा रहेको छ । कोभिड–१९ बारे विवरण निरन्तर अद्यावधिक भइरहने हुँदा सो स्थान भने केही तलमाथि भइरहन्छ । नेपालमा विहिवार ४३४ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार विहिवारसम्म ११ हजार १६२ जना संक्रमित छन् । विहिवारसम्म विश्वका १९३ औं देशमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
दक्षिण एसियामा सो संक्रमण फैलिदो रुपमा रहेको छ । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)मा नेपाल पाँचौं धेरै संक्रमित भएको मुलुक हो । विश्वमा चौथो धेरै संक्रमित रहेको भारत सार्कमा पहिलो छ । विहिवार बेलुकासम्म भारतमा ४ लाख ७३ हजार बढि संक्रमित भेटिएका छन् । भारतपछि सार्कमा पाकिस्तानमा १ लाख ९२ हजार, बंगलादेशमा १ लाख २६ हजार बढि संक्रमित देखिएको युनिभर्सिटीले संकलन गरेको तथ्यांकमा उल्लेख छ । विश्वको सूचिमा पाकिस्तान १४ औं र बंगलादेश १७ औं स्थानमा छन् । नेपालभन्दा अगाडी सार्कमा अफगानिस्तान रहेको छ । विश्वको सूचिमा ४१ औं स्थानमा रहेको अफगानिस्तानमा ३० हजार बढि संक्रमित फेला परिसकेका छन् ।
नेपालभन्दा पछाडी सार्कमा माल्दिभ्समा २ हजार २ सय बढि, श्रीलंकामा २ हजार बढि र भुटानमा ७० जना संक्रमित फेला परेका छन् । सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिकामा २३ लाख ८१ हजार बढि संक्रमित भेटिएका छन् । त्यसपछि ब्राजिलमा ११ लाख ८८ हजार र रसियामा ६ लाख १३ हजार संक्रमित भेटिएका छन् । युनिभर्सिटीका अनुसार विहिवार बेलुकासम्म विश्वभर ९४ लाख ५७ हजार बढि संक्रमित फेला परिसकेका छन् । जसमध्ये ४ लाख ८३ हजार २४६ जनाको मृत्यु भईसकेको छ ।
नेपालमा पछिल्लो पटक कर्णाली प्रदेशमा समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । भारतबाट अत्याधिक नेपाली स्वदेश फर्किएका सो प्रदेशमा ट्राभल हिष्ट्री नभएकाहरुमा पनि कोरोना देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको हो । यसअघि उदयपुरको भुल्केमा समुदायमा संक्रमण फैलिएपछि त्यसलाई कुशलतापूर्वक नियन्त्रणमा लिइएको थियो । अहिलेसम्म समुदायमा संक्रमण नफैलिएकाले नेपालको अवस्था अन्य मुलुकको तुलनामा खासै खराव नरहेको विज्ञहरुले बताएका छन् । तर, यसलाई सतकर्तापूर्वक लिदै थप सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सरकारले नेपालमा अगस्ट महिनाको पहिलो हप्तासम्ममा ३० देखि ४० हजार संक्रमित हुने प्रक्षेपण गरेको छ । त्यसको आधारमा उपचारको तयारी भइरहेको उनी बताउँछन् । ‘सख्या बढी भयो भने रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ’, उनले भने, तीस हजारका लागि भने काम भइरहेको छ ।’
केही समययता भारतबाट नेपाल फर्किने मानिसको सख्या घटिरहेको हुँदा अब क्वारन्टीनमा थप ५,००० संक्रमित भेटिन सक्ने सम्भावना भएको मन्त्रालयको आकंलन रहेको छ । ‘क्वारन्टीन लगभग खाली हुँदासम्म संक्रमितहरूको सख्या १७ हजारदेखि १८ हजार पुग्ने देखिन्छ’, उनले भने । बुधवार अपरान्हसम्म देशभरि ७२ हजार २२ जना मानिस क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । सरकारको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र प्रदेश–२ मा सर्वाधिक सख्यामा मानिसहरू क्वारन्टीनमा छन् ।

