इनरुवा – तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आज मध्याह्न १२ ः०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ ।
बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ ः०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । आज बिहान ९ ः ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए।
अनलाइन शिक्षण प्रभावकारी
उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरुले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरुले सो प्रविधिबाट घरघरमा बसेका बिद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति निकै आकर्षित हुन थालेको सम्बन्धित विद्यालय शिक्षक शिक्षिकाहरु बताउँछन् ।
त्रियुगा नगरपालिका–११ गाईघाट प्याराडाइज स्कुलका प्राचार्य बाबुराम आचार्यका अनुसार आफूहरुले जेठ महिनादेखि नै अनलाइन विधिबाट घरघरमा बसेका विद्यार्थीहरुलाई शिक्षण कार्य शुरु गरेको र अहिले प्रत्येक कक्षाका असी प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनलाइन शिक्षामा संलग्न रहेको बताए।
शुरुमा अनलाइन शिक्षण शुरु गर्दा पाँच प्रतिशत विद्यार्थीहरु मात्र सहभागी भएको भए पनि अहिले दैनिक अनलाइन शिक्षामा संलग्न हुने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।
पिसजोन एकेडेमीले पनि असारको शुरुदेखि नै आफ्ना विद्यालयमा आबद्ध विद्यार्थीहरुका लागि अनलाइन शिक्षा शुरु गरेपछि अहिले सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन शिक्षामा आबद्ध भएको विद्यालयका सहायक प्राचार्य प्रभात कर्ण जानकारी दिए । शुरुमा पाँच प्रतिशत विद्यार्थीमात्र अनलाइन शिक्षामा सहभागी भए पनि दश दिनभित्र यो सङ्ख्या वृद्धि भएर सत्तरी प्रतिशत पुगेको समेत उनले बताए।

