काठमाडौँ : पुरानो लोक कथा अनुसार एक व्यापारी अत्यन्तै धनी थिए। उनको धेरै धन-सम्पति थियो, तर उनको मन शान्त थिएन। हरसमय उनी तनावमा हुन्थे। एक दिन उनी दोस्रो गाउँबाट आफ्नो गाउँ फर्किरहेका थिए। बाटोमा उनले एक आश्रम देखे। उनी आश्रममा गए र त्यहाँ उनले एक सन्त देखे। उनले सन्तलाई प्रणाम गरे र आफ्ना समस्याका बारेमा बेलिबिस्तार लगाए।
उनका कुरा ध्यानपूर्वक सुनेपछि सन्तले उनलाई विनम्रता प्रकट गर्दै केही समय त्यहीं ध्यान गरेर बस्न आग्रह गरे। उनले ध्यान गर्ने भरमग्दुर प्रयास गरे तर त्यसको बाबजुद पनि उनले ध्यान गर्न सकेनन्। उनको मन कहिले यता कहिले उता भट्किरहेको थियो। उनले आफूले ध्यान गर्न नसकेको कुरा सन्तलाई बताए।
उनको कुरा सुनेर सन्तले मुस्कुराउँदै भने – “ठीक छ, हिँड केहीबेर आश्रम वरिपरी घुम्न जाऔं।” उनी सन्तलाई पछ्याउँदै पछि-पछि गए। त्यति नै बेला आश्रम नजिक रहेको एउटा बिरुवामा उनको हात पर्यो र उनको हातमा काँडा बिझ्यो। काँडाको घोचाइले उनको हातबाट रगत बग्न थाल्यो र पीडाले उनी कराउन थाले । सन्त तुरुन्तै आश्रममा गए र लेप लिई आए र उनको घाऊमा लगाईदिए। अनि सन्तले भने – “जसरी काँडाको घोचाईले तिमीलाई पीडा हुन्छ, ठीक त्यसरी नै मनमा पनि क्रोध, अहंकार, ईर्ष्या, लालच रुपी तिखा काँडा छन्। जब सम्म यी काँडा निकाल्दैनौ, तिमीले शान्ति पाउनेछैनौं।” उनलाई सन्तका यी कुराले छोयो र उनी सन्तका शिष्य बने। त्यस दिनबाट उनी आफूमा भएका खराबीलाई बिस्तारै हटाउँदै लैजान थाले।
कथाको सन्देश :
यदि हामी शान्ति चाहन्छौं भने सर्वप्रथम आफूमा भएका खराबीलाई दूर गर्नुपर्छ। क्रोध, अहंकार, लालच जस्ता खराब चीजहरुले कहिल्यै मनलाई शान्ति दिँदैन।