अमेरिकामा कोरोना: एकै दिन भेटिए अहिले सम्मकै बढी संक्रमित !

काठमाडौँ – अमेरिकामा हाल सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा त्यहाँ हाल सम्मकै बढी ४७ हजार ३ सय ४१ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन्।

पहिल्लो एक हप्ताबाट अमेरिकामा कोरोना संक्रमितको संख्यामा उच्च विद्धि भइरहेको छ। यसलाई अमेरिकामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको रुपमा लिइएको छ।

यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५२ हजार ९ सय ५६ पुगेको छ। जस मध्ये १० लाख ६८ हजार भन्दा बढी निको भइसकेका छन्। अमेरिकामा १३ लाख ५६ हजार भन्दा बढी संक्रिय संक्रमित छन्।

बितेको २४ घण्टामा त्यहाँ ६ सय ६३ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ ज्यान गुमाउनेको कुल संख्या १ लाख २७ हजार ६ सय ४० पुगेको छ।

अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ बढ्न सक्ने !

अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् ।

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो ।

देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्यधिक धेरै मानिस सङ्क्रमित भएको विवरण सर्वाजनिक भएका छन् । यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन् । रोग नियन्त्रण केन्द्रका निर्देशक डा रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमितको तथ्यांक सार्वजनिक भएको छ, ती हरेकबाट अन्य दश जनाको दरले सङ्क्रमित भएको हुनसक्ने देखिएको बताए।

अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरुलाई मात्रै कोरोना परिक्षण गर्ने गरिएकाले सङ्क्रमितको संख्या अहिले सार्वजनिक भएको भन्दा दश गुण हुनसक्ने अनुमान गरिएको उनको भनाई छ । यसरी हेर्दा अमेरिकाका पाँचदेखि आठ प्रतिशतसम्म मानिसलाई कोरोनाभाइरसले असर गरिसकेको हुनसक्ने देखिएको छ ।

सङ्क्रमणको क्रम तिब्र गतिमै रहेकाले सामाजिक दुरी कायम राख्ने, मास्क, पञ्जा र सेनिटाइजर लगाउने, हात धुनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताका कार्यहरु गर्न स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् ।

पछिल्लो समयमा हेलचक्रयाई पनि बढ्दै गएकाले मानवीय क्षति अझ धेरै हुनसक्ने भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।

प्रकाशित : शनिबार, असार १३, २०७७०२:२३

पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै !