“अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिन हुँदैन”

काठमाडौँ – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले एमसीसीलाई इन्डो प्यासिफिककै अंग मात्रै नभएर राष्ट्रघाती नीति भएको जनाएको छ। असार ११ गते बसेको पार्टीको अनलाइन बैठक पश्चात पार्टीको धारणा सार्वजनिक गर्दै जनमोर्चाले एमसीसीलाई पारित भए राष्ट्रघात हुने जनाएको हो।

एमसीसी अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग रहेको नेपाल स्थित अमेरिकी राजदुताबासका अधिकारी र अमेरिकाको सुरक्षा निकाय -पेन्टागन) ले स्पष्ट गरिसकेको हुँदा संसदबाट पारित गर्न नहुने पार्टीको निष्कर्ष छ। एमसीसी आर्थिक दृष्टिले पनि राष्ट्रहितको पक्षमा नरहेको जनमोर्चाको भनाई छ।

“एमसीसी सम्झौता नेपालको हितमा नभएको मात्र होइन, त्यो गम्भीर राष्ट्रघाती छ । यो अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग हो । यसबारे नेपाल स्थित अमेरिकी राजदुताबासका अधिकारी र अमेरिकाको सुरक्षा निकाय -पेन्टागन) ले स्पष्ट गरिसकेका छन् । त्यो रणनीतिको उद्देश्य अमेरिकी साम्राज्यवादी नीतिलाई सामरिक रुपले हिन्द प्रशान्त क्षेत्रमा मद्दत पुराउनु हो । त्यसलाई संसदबाट पारित गरेपछि हाम्रो असंलग्न परराष्ट्र नीति कायम रहने छैन र हामी अमेरिकी क्याम्पमा खडा हुन पुग्ने छौं ।”,जनमोर्चाले धारणा सार्वजनिक गर्दै भनेको छ।

यस्तै नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला निरन्तर ७ वर्षसम्म नेपालमा बसेपछि उनलाई अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता ऐन संशोधन गर्न ल्याइएको विधेयकको जनमोर्चाले समर्थन गरेको छ। यधपी माईती देशको नागरिकता त्यागिसकेपछि नै नेपाली नागरिकता दिए झनै राम्रो हुन्थ्यो भन्ने उसको बुझाई छ। साथै जनमोर्चाले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्थालाई गलत भनेको छ ।

सीमा क्षेत्रमा लाखौँ भारतीयहरुले नेपालको नागरिकता लिएको उल्लेख गर्दै जनमोर्चाले नेपालीहरु अल्पमतमा हुने स्थिति बनेर नेपालमा फिजीको स्थिति हुने गम्भीर खतरा रहेको पनि औल्याएको छ।

“सरकारले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला निरन्तर ७ वर्षसम्म नेपालमा बसेपछि उनलाई अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता ऐन संशोधन गर्न विधेयक ल्याएको छ । उक्त प्रावधानलाई हामीले सही मान्दछौँ र त्यसको समर्थन गरेका छौँ । तर, ती महिलाले माईती देशको नागरिकता त्यागिसकेपछि नै नेपाली नागरिकता दिनु सही हुन्थ्यो । माईती देशको नागरिकता त्याग गर्ने प्रक्रियामा लगे मात्र हुने विद्यमान कानुनको व्यवस्था सही छैन । यसबाट दोहोरो नागरिकताको स्थिति उत्पन्न हुन्छ । यसको साथै अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पनि सही छैन । त्यसप्रकारका व्यवस्थाको हामीले विरोध गर्दछौँ ।”,जनमोर्चाद्वारा सार्वजनिक धारणामा भनिएको छ।

प्रकाशित : आइतबार, असार १४, २०७७०२:५८

‘शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्छ’