काठमाडौँ – सोमबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए। यससँगै १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा नेपालका १ सय २१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। सोमबार डिस्चार्ज हुनेहरुमा १३ जना महिला र १ सय ८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १ सय ३२ पुगेको छ। हाल सम्म २ सय ६६ जना महिला र २ हजार ८ सय ६६ जना कोरोना संक्रमित पुरुष निको भैसकेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ७ हजार ७ सय ९१ पिसिआर परीक्षण र १ हजार ८ सय २२ आरडीटि परीक्षण भएको छ। क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेको पनि उनले जानकारी दिए।

