काठमाडौँ – गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा ह-त्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई सोमबार सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार घटना सुस्मिता माथि भएका अत्याचार र ससुराले गरेको जर्बजस्ती करणी उद्दोग लुकाउन गरिएको देखिएको छ।
छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको ह-त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
किन भयो घटना?
२३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । त्यसपश्चात रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भन्दै परिवारले मानसिक यातना दिने गरेका थिए ।
समय बित्दै जाँदै परिवारले दिने मानसिक तथा शारीरिक यातना बढ्दै गएको थियो। यति सम्म भएको थियो की ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरुपममा जर्बजस्ती करणी प्रयास समेत गरेका थिए।
उनी माथि अत्याचार दिनप्रतिदिन बढ्दै थियो। रुपेन्द्रको मृत्युको दोष उनी माथि थोपर्ने मात्र नभई उनलाई रुपेन्द्रको बिमा बापतको रकमको विषयलाई लिएर पनि सुस्मितालाई यातना दिने कम परिवारले गरेको थियो।
सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटनापश्चात क्षतिपूर्ति पाउने पाँच लाख सुस्मिताले लिएपछि घरपरिवारले आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । साथै रुपेन्द्रको काम गर्ने कम्पनिबाट बिमा, बोन, तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो । सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बिमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको प्रहरीको भनाई छ । घटनाको मुख्य कारण रकम नै देखिएको प्रहरी निषकर्ष छ।
कसरी भएको थियो घटना ?
घटना भएको दिन महिनावारी भएकाले सुस्मिता भुईंमा बसेर खाना खाँदै थिइन् । उनकी नन्द सिता थापा पनि खाना खाँदै थिइन् । सोहि बेला ससुरा प्रकाश अर्को कोठामा बसेर रक्सि पिउँदै थिए। रक्सि पिउँदै गरेका उनी बाहिरबाट भान्छा कोठामा प्रवेश गरे। उनको हातमा काठको लौरो थियो। उनले एक्कासी सुस्मितालाई प्रहार गरे।
ससुराको प्रहार पछि सुस्मिता लडिन्। त्यसपश्चात नन्द सिता थापाले समेत भाउजु सुस्मितालाई ढुंगाको लोहोरोले प्रहार गरिन्। यसरी ससुरा र नन्दको प्रहारको अगाडी सुस्मिता दम तोड्न बाध्य भइन्।
उनको ह-त्या गरिसकेपछि प्रकाशले छोरा साथै श्रीमतीलाई भान्साबाट बाहिर पठाए। आफू भने झ्यालबाट निस्किए। त्यस रात उनीहरु आनन्दसँग सुते। भोलिपल्ट उनीहरुले गाउँमा बुहारीले आत्मह-त्या गरेको भन्दै हल्ला गरे।

