खुकुलो लकडाउन कडा पार्ने सरकारी तयारी !

काठमाडौँ – सरकारले खुकुलो बनाइएको लकडाउनमा कडाइ गर्ने तयारी गरेको छ। नागरिकस्तरबाट लापरवाही भएको भन्दै सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण नसरोस् भन्नका लागि सरकारले आवश्यक सुरक्षा नीति तथा सामाजिक दूरी कायम गर्ने गरी लकडाउन खुकुलो बनाइएको भएपनि जनस्तरबाट लापरवाही गरेको पाइएको सरकारको निष्कर्ष छ।

सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको छ।

पसल तथा अन्य सार्वजनिक स्थानमा सामाजिक दूरी कायम नगरेको तथा मास्क नलगाई हिँडेको पाइएसँगै सिसिएमसीमा सोमबार यस विषयमा छलफल भएको हो। सिसिएमसीको बैठकमा अहिलेको खुकुलो लकडाउनलाई बन्द गराउने भन्दा पनि यथास्थितिमा सुरक्षाका मापदण्ड कडाईका साथ पालना गराउने विषयमा छलफल भएको बताइएको छ।

यस्तै कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो। उक्त निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको सीसीएमसीका सदस्यहरु बताउँछन्।

प्रकाशित : सोमबार, असार १५, २०७७१३:०५

नेपालमा सलहको सङ्ख्या वृद्धि हुने सम्भावना कति ? यसो भन्छन् विज्ञ !