काठमाडौँ – मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा धुलिखेलमा दुई जनाको ज्यान गएको छ। धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ५० बर्षिय बेदप्रसाद कोईराला र उनका दाजु ५५ बर्षिय गोर्बद्धन कोईराला रहेका छन्। दुवै धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीका स्थायी वासिन्दा हुन्।

बनेपाबाट रविओपी तर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्वरको मोटरसाईकललाई बनेपाबाट नै आएको बा ४ छ ६३८६ नम्वरको टिप्परले ठक्कर दिँदा दाजुभाइको ज्यान गएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। मृत्यु भएका दुवैको शव बनेपाको शिर मेमोरियल अस्पतालमा राखिएको छ।

ठक्कर दिए पश्चात टिप्परका चालक फरार भएका छन्। प्रहरीले टिपर चालकको खोजी गरिरहेको छ। टिप्पर चालकको लापरवाहीका कारण दुर्घटना भएको हुँदा पक्राउ परेर कारवाही गर्न रविओपीवासीको माग छ।

