काठमाडौँ – नागरिकता ऐन संशोधन विधेयक खारेजीको माग गर्दै आन्दोलनमा होमिएको जनमत पार्टीले बिहिबार विभिन्न जिल्लामा भैंसी जुलुस गरेको छ।
सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले नेपालीसँग विवाह गरी आउने बुहारीले ७ वर्ष पछि मात्रै नागरिकता पाउने व्यवस्थाको विरोधमा तराईका विभिन्न जिल्लाहरुमा भैंसी जुलुस निकालेको हो।
पूर्वनिर्धारित तालिका अनुसार भैंसीको गलामा घन्टी बाँधेर गाउँ शहर घुमाइएको जनमत पार्टीले जनाएको छ। पार्टीका अनुसार जनताको आवाज नसुन्ने सरकार भैंसी सरह हो भन्दै भैंसी जुलुस निकालिएको हो।
नेपालीसँग विवाह गरी आउने बुहारीले ७ वर्ष पछि मात्रै नागरिकता पाउने व्यवस्था गर्न लागिएपछि जनमत पार्टीले गत हप्ता विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा थियो। त्यसयता पार्टीले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ।
बुधबार तराईका विभिन्न जिल्लाहरुमा सिठ्ठी जुलुसको आयोजना गरिएको छ। शुक्रबार नागरिकता विधेयकको प्रतिलिपी जलाउने कार्यक्रम रहेको पार्टीको भनाई छ।
नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूको चाहना विपरित रहेको पार्टीको ठहर छ। साथै मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकार खोस्न र मधेशी, आदिवासी, जनजाति,दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउन विधेयक ल्याइएको जनमत पार्टीको आरोप छ।
तस्विर-भिडियो : दिपेन्द्र यादव