सार्वजनिक यातायात चलाउन दिनुपर्ने महासङ्घको माग

काठमाडौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उहाँको भनाइ छ ।
उपाध्यक्ष तामाङ भन्नुहुन्छ, तीन महिनादेखि काम गर्न नपाउँदा हामी समस्यामा परियो, काम गरेको छैन तर बैङ्कले त हामीलाई छोड्दैन, कहाँबाट किस्ता तिर्ने, परिवार कसरी पाल्ने सरकारले हामीलाई केही राहत दिएको छैन, काम गरेर खान त पाउनु प¥यो नि, सडकमा गाडी गु्डिरहेका छन्, ट्याक्सीले मात्रै कोरोना सार्ने हो र ?

प्रकाशित : शनिबार, असार २०, २०७७०२:४२

सलह खाने कि नखाने ? यस्तो छ वास्तविकता !