काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा दैनिक कोरोना संक्रमित प्रतिशत घटिरहेको बताएका छन्। मंगलबार मन्त्रालयको दैनिक प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले दैनिक कोरोना संक्रमित प्रतिशत घटिरहेको बताएका हुन्।
असार १९ गते कुल परीक्षण भएकोमा १६ दशमलव ५ प्रतिशत, असार २० गते ५ दशमलव ७ प्रतिशत, असार २१ गते ६ दशमलव २ प्रतिशत, २२ गते ३ दशमलव ८ प्रतिशत र २३ गते ३ दशमलव दशमलव प्रतिशतमा कोरोनाको पुष्टि भएको उनले बताए।
असार महिनामा ह्वातै कोरोना संक्रमितको संख्या बढेको कर्णाली प्रदेशमा क्वारेन्टाइन रितिंदै गएको र कोरोना निको हुनेको संख्या पनि उच्च रहेको उनले बताए। अन्य प्रदेशमा पनि कोरोना मुक्त भएर घर फर्किनेको संख्या उच्च रहेको उनको भनाई छ।
यस्तै उनले नेपालका चार जिल्ला कोरोना मुक्त भएको पनि जानकारी दिएका छन्। उनका अनुसार प्रदेश १ का ३ जिल्ला र कर्णाली प्रदेशको १ जिल्ला कोरोना मुक्त भएको छ। कोरोना मुक्त भएका जिल्लाहरुमा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला छन्।
काठमाडौँ उपत्यकामा थपिए २८ कोरोना संक्रमित !
मंगलबार काठमाडौँ उपत्यकामा २८ कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका तीनै जिल्लामा गरी थप जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ भने टन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा नेपालका ६ सय ८८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ। नेपालमा अहिले सम्म ४६ दशमलभ ४ प्रतिशत संक्रमित निको भैसकेका छन्।
हाल सम्म नेपालमा २ लाख ६१ हजार १ सय ६१ पिसिआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार १ सय ३३ पिसिआर परीक्षण भएको छ।
नयाँ अपडेट अनुसार देशका विभिन्न क्वारेन्टाइनमा २५ हजार ७ सय २७ जना रहेको र आइसोलेसनमा ८ हजार ६ सय २४ जना रहेका छन्।

