काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र देखिएको विवाद पछिल्लो समय नेताहरुको आ–आफ्नो स्वार्थमा अल्झिएपछि सहमति निकाल्न सकस भएको छ । शुरुमा निक्कै आक्रमक बनेको नेकपाभित्रको राजनीति शिर्ष नेताको स्वार्थका कारण पेचिलो बन्दै गएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा एकाएक असार १६ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेपछि नेकपाभित्रको राजनीति तातेको थियो । दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि साथ दिएपछि ओली एक्लो जस्तो भएका थिए । शुरुमा दुवै पक्ष निक्कै आक्रमक रुपमा प्रस्तुत हुँदा पार्टी नै विभाजन हुने अवस्थामा पुगेको नेता कार्यकर्ताले ठम्याएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ, नेकपा भित्रको राजनीति ।
अहिले मुख्य चार शिर्ष नेता आ–आफ्नो स्वार्थ अनुरुपको पद पाउनका लागि समिकरण नै फेरबदलमा पुग्न सक्ने अवस्थामा देखिएका छन् । नेकपाभित्र मुख्य रुपमा तीन वटा गुट रहेको छ । ओली, प्रचण्ड र नेपाल गुट प्रमुख हुन् । यी तीनै पक्षसँग कुनै पनि कमिटीमा बहुमत छैन । त्यसैले बहुमत पु¥याउन कुनै दुई पक्ष मिल्नुपर्ने हुन्छ । शुरुमा प्रचण्ड–नेपाल पक्ष मिलेर ओलीको राजिनामा माग गरे । तर, अहिले फेरी ओली–प्रचण्ड निरन्तर सम्वादमा जुटेपछि नेपाल पक्ष एक्लिएको छ । जसले गर्दा तीनै पक्ष अहिले सशंकित अवस्थामा छन् ।
ओली–प्रचण्डबीच पछिल्लो केही दिनदेखी निरन्तर संवाद चलिरहेको छ । सो वार्ता सकरात्मक रहेको बताइएको छ । मंगलबार पनि तीन घण्टाभन्दा बढी समय दुई अध्यक्षबीच कुराकानी भएको छ । ‘वान टू वान’ भएको वार्ताका विषयमा बाहिर कुनै जानकारी गराइएको छैन । सम्भवत बुधबार विहान बोलाइएको स्थायी कमिटी बैठक बस्ने सम्भावना रहेको नेताहरु बताउछन् ।