काठमाडौँ – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। मन्त्रिपरिषदका बैठकले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।
यस+ बारेमा मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी गराएका छन्। उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको हो।
सरकार =ले गरेको निर्णय अनुसार अन्तरजिल्ला सवारी साधन चलाउन भने पाइने छैन। यधपी, काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्नेछन्।
सवारी साधनका चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ । यस्तै यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । सवारी साधन सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ भने हरेक दिन सवारी साधन निसंक्रमण पनि गर्नुपर्नेछ।
तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारको निर्णय छ। सरकारले शुक्रबार देखि नै सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको बताइएको छ। काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन पनि गर्न दिने सरकारको निर्णय छ।