काठमाडौँ – भारतमा एक गोर्खा सैनिकले ज्यान गुमाएका छन्। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी)को सुरक्षामा खटिएका एक गोर्खा सैनिकको शुक्रबार ज्यान गएको हो।
ज्यान गुमाउनेमा ३३ वर्षीय हवल्दार सम्बर गुरुङ रहेका छन्। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलीबारीमा उनलाई गोली लागेको र उनको ज्यान गएको बताइएको छ।
शुक्रवार बिहान एक बजे आसपासको समयमा पाकिस्तानी तर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका नेपालका हवलदार सम्बर गुरुङको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको छ।
पाकिस्तानी पक्षबाट भएको गोलीबारीबाट हात तथा अनुहारमा गम्भीर क्षति पुग्दा उनको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनी गोर्खा जिल्ला स्थित मुन्बूका रहेको बताइएको छ। यधपी यस बारे पूरै एकिन भने भइसकेको छैन।
यस भन्दा अगाडी असार महिनामै भारतीय सीमा सुरक्षाका लागि नेपालीको ज्यान गएको थियो। यसअघि असार ८ गते जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको ज्यान गएको थियो।