लकडाउन फेरि लम्बिने, तर स्वरुप फेरिने !

काठमाडौँ, साउन ४ गते । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले बन्दाबन्दी सम्बन्धी सरकारका विगतका निर्णयहरुको समीक्षा गरेको छ । बैठकमा बन्दाबन्दीको परिवर्तित स्वरुप र त्यसले जनजीवनमा पारेको प्रभावका साथै कोभिड–१९ सङ्क्रमणको अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव एवं सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाईले कोभिड–१९ सङ्क्रमणको वातावरण सहज बन्दैगएको र सोहीअनुसार क्याविनेट बैठकका लागि प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

उहाँले भन्नुभयो, “परिस्थिति सहज हुँदैआएको हो । भारतमा पुनः सङ्क्रमण बढ्दै छ । भारतबाट आउने संख्यामा कमी त आएकै छ । यो अवस्थामा कसरी अगाडि जाने हो ? भन्ने विषयमा छलफल भयो ।” उहाँले पछिल्लो परिस्थितिको विश्लेषण गर्दै बन्दाबन्दीको आगामी स्वरुपबारे प्रस्ताव तयार पार्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिइएको बताउनुभयो । सरकारले यसअघि साउन ७ गते सम्मका लागि बन्दाबन्दीको परिवर्तित स्वरुप जारी गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई मुलुकभित्र प्रवेशमै नियन्त्रण गर्ने उद्देश्यअनुसार सरकारले गत चैत ११ गतेदेखि मुलुकभित्र तथा अन्तर्राष्ट्रिय सीमा क्षेत्रको आवातजावतमा रोक लगाएको थियो ।

बन्दाबन्दी साउन १ गतेदेखि केही खुकुलो बनाइएको थियो । सीसीएमसीका अनुसार, साउन ४ गते आबुधावी, कतार, दुवई र मलेसियाबाट सात उडान मार्फत् एक हजार २२५ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै, कतारबाट दुई र दुबईबाट दुई शवसमेत आइतबार ल्याइएको छ । त्यस्तै, साउन ३ गतेसम्म ३० हजार ९४० जना नेपाली फर्किसकेका छन् । त्यसमध्ये वाग्मती प्रदेशबाट सबैभन्दा बढी आठ हजार ८१० जना फर्किएका छन् । कर्णालीमा सबैभन्दा कम ६८६ जना फर्किएका छन् । भारतबाट नेपाल फर्कने नेपालीको संख्या सबैभन्दा धेरै छ ।

सीसीएमसीका अनुसार, असार ४ गतेसम्ममा तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण भइसकेको छ । त्यस्तै, तीन लाख १२ हजार ४०२ जनाको आरडिटी परीक्षण गरिएको छ । हालसम्म १७ हजार ६५८ मा सङ्क्रमण पाइएको र त्यसमध्ये ११ हजार ६९५ जना स्वास्थ्य लाभगरी घर गइसकेका छन् । अहिलेसम्म निधन भएका ४० जनामा कोभिड–१९ सङ्क्रमण पाइएको छ । क्वारेन्टाइनमा २२ हजार ६६२ जना मात्र रहेका छन् ।

प्रकाशित : सोमबार, साउन ०५, २०७७०२:३१

निरन्तर वर्षा, सतर्कता अपनाउन आग्रह !