काठमाडौँ – ब्रत बसेकी एक महिलाको सोमबार सुर्खेतमा निधन भएको छ। सोमबार दिउँसो बराहताल गाउँपालिका-८ भट्टेघाडीमा रहेको शिव धाम मन्दिरमा पूजा गर्दा-गर्दै एक महिलाको निधन भएको हो।
ज्यान गुमाउनेमा वडा नम्बर ४ सिम्लेघारीकी ५० वर्षीया लक्ष्मी शाही रहेकी छन्। उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । पूजा गर्ने क्रममा उनको करिब १२ बजेतिर निधन भएको बताइएको छ।
बुहारीसँगै मन्दिर आएकी उनी दिर्ग रोगी रहेको र आइतबार देखि ब्रत बसेको थाहा हुन आएको वडाध्यक्ष मणिराज कार्कीले बताए। उनका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहोस भएकी थिइन् । होस नखुल्दै उनको मृत्यु भएको उनले बताए।
मृतक शाही शव परिवारजनलाई जिम्मा लगाइसकीएको छ भने घटना बारे प्रहरीलाई पनि खबर गरिएको छ।
पहिराले पुरेर दुई महिला बेपत्ता
तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए ।