काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको हवाई उडानहरु भदौबाट सुचारु हुने भएका छन् । आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक र अन्तराष्ट्रिय दुवैतर्फको उडान सुचारु गर्ने निर्णय गरेको छ । त्यसका लागि विमानस्थल, विमान र उडान दलका सदस्यले उच्च स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने भएको छ । सरकारले कोरोना भाइरसको महामारी बढेपछि चैत ९ गतेदेखी अन्तराष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।
हवाई उडान खोल्ने निर्णयअघि सरकारले यसअघि नै जिल्लागत रुपमा सार्वजनिक सवारी साधन सञ्चालन गरिसकेको छ । मन्त्रिपरिषद्ले उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ ।
मन्त्रालयले कसरी उडानलाई व्यवस्थित बनाउने भनेर मन्त्रीपरिषद्मा प्रस्ताव लगेपछि त्यसलाई अन्तिम रुप दिइने भएको छ । विमान कम्पनीहरुले यसअघि नै आफुहरु उडानका लागि तयार रहेको बताएका थिए । विमानस्थलमा पनि सामाजिक दुरीसहित मानिसहरुलाई विमानसम्म लैजाने व्यवस्था गरिसकेको छ । सरकारले जारी राखेको उद्धार उडानका क्रममा यस्ता सुरक्षाको उपायहरु अवलम्बन गरिसकिएको छ ।
अन्तराष्ट्रिय हवाई उडानबाट आउनेहरुलाई भने कसरी व्यवस्थित गर्ने भन्नेबारेमा अन्यौल कायम छ । मन्त्रालयले पिसिआर गरेर आउनुपर्ने वा नेपाल आएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसाउने भन्नेमा सम्वन्धित पक्षसँग छलफल गर्ने भएको छ । पर्यटन मन्त्रालयले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड–१९ संकट व्यवस्थापन समितिले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । समितिले साउन २१ गतेबाट आन्तरिक र भदौबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने प्रस्ताव गरेको थियो ।
सरकारले यथास्थितिको लकडाउनलाई साउन ७ गतेदेखी थप खुकुलो बनाउने भएको छ । अहिले आशिक रुपमा संचालनमा रहेको व्यवसायलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता प्रदान गरिएको बताए । यद्यपी उनले सिनेमा घर, लामो दुरीका सवारीसाधन, शिक्षण संस्था बन्द भने यथावत रहेको जानकारी दिए । सरकारले साउन ७ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय यसअघि गरेको थियो ।
राजधानीमा विहिवारबाट बस चल्ने
राजधानीसहित देशभरमा बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन् । सरकारले यसअघि नै जिल्लागत रुपमा सवारी संचालन गर्ने निर्णय गरेपनि व्यवसायी विभिन्न माग गर्दै चलाएका थिएनन् ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेपति विहिवारबाट बस संचालन गर्न राजि भएका हुन् ।
यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ । कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ ।
यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुने छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसअघि मौद्रिक नीतिले धेरै हदसम्म व्यवसायीका माग सम्वोधन गरेको र केही माग विभागले सम्वोधन गर्नका लागि पहल गर्ने सहमति भएको बताए ।