साउन १५ देखि होटल खुल्ने, तर भोज र पार्टी गर्न नपाइने !

काठमाडौँ – सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले साउन १५ गतेबाट होटल खोल्न दिने निर्णय गरेको जानकारी दिए।

होटल खुलेपनि भोज र पार्टीमा भने प्रतिबन्ध जारी रहनेछ। सरकारको निर्णय अनुसार होटेलमा भोज र पार्टी गर्न भने पाइने छैन । साथ-साथै यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।

सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । भर्ना खुल्ने निर्णय गरिएपनि सरकारले कक्षा सञ्चालन कहिलेबाट गर्न दिने भन्ने विषयमा भने केहि पनि खुलाएको छैन।

सरकारले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरस संक्रमण रोक्थाप तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अन्त्य पनि भएको छ। चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने मन्त्री खतिवडाले बताए।

प्रकाशित : मङ्गलबार, साउन ०६, २०७७१४:११

खुल्यो लकडाउन: पर्सिबाट छोटो दूरीका सवारीसाधन चल्ने !