काठमाडौँ – सीमा क्षेत्रमा खटिएका १ दर्जन भन्दा बढी सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। काँकरभिट्टा सीमा क्षेत्रमा कार्यरत १८ सशस्त्र प्रहरीमा कोरोनाको पुष्टि भएको हो।

सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएका १८ जनामा कोरोनाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कोरोना पुष्टि हुने प्रहरीहरुमा १७ पुरुष र १ महिला छन्।

यस भन्दा अगाडी काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो। जसपश्चात साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो।

प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए। संक्रमणको पुष्टि भएकाहरुलाई लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको छ।

चौलागाईँका अनुसार झापामा शुक्रबार साँझ सम्म संक्रमितको संख्या ३ सय ४५ पुगेको छ । जस मध्ये २ सय ९९ जना निको भइसकेका छन्।

