काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र अहिले आरोप-प्रत्यारोप चलिरहेको छ। ओली पक्ष र प्रचण्ड-माधव नेपाल पक्ष बीच चलिरहेको आरोप-प्रत्यारोपमा दोस्रो तहका नेताहरु पनि सहभागी भइरहेका छन्।
शुक्रबार पार्टीका अध्यक्ष प्रचण्डले कालापानी-लिपुलेक लगायतका भूभाग समेटेर जारी गरिएको नक्साको जश प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र लिन नमिल्ने बताएका थिए।
“भारतले हडपेको भूमि समेटेर नक्सा निकालौँ भन्नेहरु चाहिँ अहिले कसरी राष्ट्रघाती र दलाल भए? तर नक्सा निकाल्न ६ महिना लगाउने चाहिँ राष्ट्रवादी हुन सक्दैन। यो परिभाषा सरासर गलत छ।”,उनले भनेका थिए।
अहिले ओली पक्षका नेताहरु प्रचण्डको उक्त भनाईको प्रतिकारमा उत्रिएका छन्। ओली निकट नेताहरुले कालापानीलगायतका भु-भाग समेटेर नक्शा जारी गरेकोमा प्रचण्डले जबर्जस्ति आफ्नो भूमिका थियो भनेर स्थापित गराउन खोजेको आरोप लगाएका छन्।
यसै बीच प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले कालापानी विवाद पूरानै रहेको प्रचण्डलाई स्मरण गराएका छन्। पोखरेलले कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको र आफू प्रधानमन्त्री हुँदा कसरी थाहा नपाएको भनी प्रश्न गरेका छन्। सामाजिक संजाल फेसबुक मार्फत पोखरेलले आफू प्रधानमन्त्री हुँदा प्रचण्डले केहि गर्न नसकेको तर्फ इंकित गरेका छन्।
पोखरेलको उक्त प्रश्न प्रति टिप्पणी गर्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले ओली पनि त पहिला प्रधानमन्त्री भएका थिए नि ? भनेर प्रश्न गरेका छन्।

