काठमाडौँ- प्रहरी प्रधान कार्यालय, नक्सालका कार्यरत प्रहरीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखाका ४ जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको हो।

कोरोना पुष्टि भएकाहरुमा सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार र तीन जवान रहेका छन्। प्रहरी अस्पतालमा भएको परीक्षणबाट उनीहरुमा कोरोनाको पुष्टि भएको बताइएको छ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणबाट ४ जनामा कोरोनाको पुष्टि भएपछि थप पुष्टिको लागि स्वाब टेकु पठाइएको छ। सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको र त्यसक्रममा चार जनामा कोरोनाको पुष्टि भएको प्रहरी हेडक्वार्टर श्रोतले जनाएको छ।

चार जनामा कोरोनाको पुष्टि भएपश्चात अन्य प्रहरीहरुको पनि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ। नेपालमा अहिले सम्म देशभर ११५ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन्।

