प्रचण्डले भने – “पार्टीभित्रको समस्याको जड अहंकारी ओली हुन्”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी बन्दै गएको टिप्पणी गरेका छन्। आइतबार सुदूरपश्‍चिम प्रदेशबाट खुमलटार पुगेका नेताहरूसँग छलफल गर्नेक्रममा उनले ओली बारे कडा टिप्पणी गरेका हुन्।

नेताहरुसँग छलफल गर्नेक्रममा प्रचण्डले ओलीको अहंकारी प्रवृत्तिले पार्टी नै संकटमा परेको आरोप लगाए। छलफलमा सहभागी नेताहरुका अनुसार प्रचण्डले ओलीमा पार्टीको निर्णय पनि नमान्‍ने र आफैं पनि केही नगर्ने प्रवृत्ति देखिएको बताएका थिए। साथै प्रचण्डले सरकार र पार्टी दुवैमा ओलीले एकलौटी गरेको बताएका थिए।

“प्रधानमन्त्री ओलीको अहंकारी प्रवृत्तिले पार्टी एकता संकटमा पुग्यो। उहाँले पार्टी र सरकार दुवैमा एकलौटी गर्नुभयो।”,छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले भनेका थिए,”प्रधानमन्त्रीले सरकार प्रमुख पनि आफैं पार्टीको अध्यक्ष पनि आफैंमात्र भएजस्तो व्यवहार देखाउनुभयो। पार्टी र निर्वाचनको घोषणापत्र पनि भुल्नुभयो।”

प्रचण्डले छलफलमा नेकपा एमाले दर्ता भएको विषयमा पनि टिप्पणी गरेका थिए। पार्टी एकलौटी ढंगले संचालन गरेपछि विरोध हुँदा ओलीले पार्टी नै फुटाउन खोजेको प्रचण्डको आरोप थियो।

दाहालका अनुसार पार्टीमा देखिएको समस्याका मूख्य जड ओली हुन्। आफूहरुले पार्टीलाई एकतावद्ध गरेर लैजान खोज्दा पनि ओलीले सहयोग नगरेको भन्दै प्रचण्डले दुखेसो पोखेका थिए।

“ओली बैठकमा पनि नआउने कारणले पार्टीभित्रको विवादमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। पार्टी एकता जोगाउन हर प्रयत्‍न भइरहेको छ। सहमतिको प्रयास भइरहेको छ।”,छलफलमा प्रचण्डले भनेका थिए।

प्रकाशित : आइतबार, साउन ११, २०७७१३:५३

लुकीछुपी भित्रिने क्रम रोक्न सीमानाकामा थप कडाई !