उद्योगमन्त्री लेखराज भट्टलाई धम्की – ‘एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को पक्षमा लागे ज्यान लिने धम्की आएको छ। मन्त्री भट्टलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)लाई समर्थन गरे टाउको काट्ने धम्की आएको हो।

मन्त्री भट्टले संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफूलाई धम्की आएको जानकारी गराए। बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको उनको भनाई छ।

“मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ। मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।”,संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले भने।

नेपालमा कुनै पनि विषयमा पढ्दै-नपढी, जान्दै-नजानी-नबुझी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए। अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले तर्क गरे।

“हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा टिप्पणी गर्छौं। अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको छन्।”,उनले भने।

संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन मात्रै गरेको उनले बैठकलाई जानकारी गराए।

“मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी गर्दा गर्दा गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?”,उनले भने।

प्रकाशित : बिहिबार, साउन १५, २०७७०९:०६

उजुरी परेपछि सुशान्तकी प्रेमिका रीया भागिन् !