काठमाडौँ – नायिका परमिता राणाका कारण सामाजिक संजालमा बबण्डर नै मच्चिएको छ। टिकटकमा एक कमेन्टको रिप्लाई गर्नेक्रममा परमिताले दिएको अपाच्य तथा गैरजिम्मेवार अभिव्यक्तिका कारण सामाजिक संजालमा बबण्डर मच्चिएको हो। सामाजिक संजालमा अहिले परमिताको चर्को आलोचना तथा ट्रोल भइरहेको छ।
टिकटकमा परमिताले एक भिडियो राखेकी थिइन्। जसमा प्रियंका डंगोल नाम गरेकी टिकटक प्रयोगकार्यले गत मंसिरमा परमिता समेत सवार कारको ठक्करबाट एक जनाको ज्यान गएको विषयलाई समेत जोडेर कमेन्ट गरेकी थिइन्। उक्त कमेन्ट देखि परमितालाई यति असह्य भयो की उनले धेरै नै अपाच्य रिप्लाई दिइन्।
के थियो कमेन्टमा ?
“यदि तपाई कारमा हुनुहुन्थ्यो, मातिएका चालकले एक निर्दोष व्यक्तिलाई ठक्कर दिएर ज्यान लिए भने भाग्नेक्रममा के लगाउनुहुन्थ्यो?”,सामाजिक संजालमा देखिएको स्क्रिनसटमा एक टिकटक प्रयोगकर्ताले भनेको देखिन्छ। जसको उत्तर दिँदै परमिताले,”होइन प्रिय ! म भर्साचे कोटमा थिएँ, जुन तिमि किन्न सक्षम छैनौ” लेखेकी थिइन्।रिप्लाई दिने क्रममा भर्साचे कोटको कुरा निकालेपछि अहिले ट्वीटरमा “भर्साचे” ट्रेन्ड गरिरहेको छ।
किन भयो आलोचना ?
गत मंसिरमा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको ज्यान गएको थियो। उक्त कार २१ वर्षीय पृथ्वी मल्लले चलाएका थिए। कारमा परमिता पनि थिइन्। दुर्घटना पश्चात कारमा भएका सबै जना भागेका थिए।
दुर्घटनामा परमितापनि थिइन् भन्ने समाचार आउन थालेपछि पुसमा उक्त कारमा आफू पनि भएको उनले स्वीकारेकी थिइन्। दुर्घटना भएपश्चात भागेको भन्दै उनको चर्को आलोचना भइरहेको थियो।
माफी मागिन्
सामाजिक संजालमा चर्को आलोचना पश्चात परमिताले माफी मागेकी छन्। इन्स्टग्राममा एक स्टोरी राख्दै उनले आफूबाट ठूलो गल्ति भएको बताएकी छन्।