काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौँ उपत्यका प्रवेशमा कडाई गरिने भएको छ। काठमाडौं उपत्यका प्रवेश गरेकाहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै गृह मन्त्रालयले उपत्यका प्रवेशमा कडाई गर्ने भएको हो।
मन्त्रालयले बिहिबार एक सूचना निकालेर उपत्यका प्रवेशमा कडाई गरिएको जानकारी गराएको छ। साथै अत्याआवश्यक सेवा र ढुवानीका साधन बाहेक बिहीबार देखि हरेक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावतमा पनि रोक लगाएको छ। अर्काे आदेश नहुन्जेलसम्मका लागि अब रातको समयमा नाकामा यात्रुको आवागमन हुन पाउनेछैन।
साथै काठमाडाैं उपत्यका बाहेकका जिल्लामा अतिआवश्यक बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न पनि गृहले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। अब बिना पास अन्तरजिल्ला आवागमन पूर्ण रुपमा बन्द रहनेछ।
बिहिबार काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।