काठमाडौँ – वीरगंजकी एक कोरोना भाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्। बिहिबार राति मात्र कोरोना भाइरस संक्रमणको पुष्टि भएकी महिलाले आज बिहान बच्चा जन्माएकी हुन्।
वीरगंज-१ छपकैया बस्ने ३१ वर्षीया गर्भवतीको चिकित्सकको सहयोगमा बिहान ४ बजे नर्मल डिलेभरी भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले बताए। उनले जन्माएको नवजात शिशुको तौल ३ किलोग्राम रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।
बताइएअनुसार, गत साउन ७ गते नियमित चेकजाँचका लागि नारायणी अस्पताल गएकी उनीमा ज्वरो देखिएको थियो। ज्वरो नघटेपछि उनी साउन १४ गते प्रभु अस्पताल गएकी थिइन्। त्यहाँका चिकित्सकले पीसीआर परीक्षण गराएर आउनु भनेपछि उनी फर्किएकी थिइन्।
बिहिबार उनलाई व्यथाले च्यापेपछि नेशनल मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना गरिएको थियो। जसक्रममा परीक्षण गराउँदा बिहिबार राति ११ बजे उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।