एजेन्सी – भारत, रसिया, बेलायत, चीन, अमेरिका लगायतका धेरै देशका वैज्ञानिकहरू कोरोना खोप तयार पार्न व्यस्त छन्। यस दौडमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोप सबै भन्दा अगाडी छ। अक्सफोर्ड विश्वविद्यालयले तयार परेको खोप परीक्षण लगभग अन्तिम चरणमा छ।

बेलायतमा नै निर्माण भइरहेको अर्को एक खोपले पनि सफलता पाउने देखिएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार इम्पीरियल कलेज लन्डनले तयार पारेको खोपको परीक्षण गर्दा सकारात्मक नतिजा आएको हो।

केहि स्वयम्सेवकहरूलाई उक्त खोप दिइएको र त्यसले उनीहरुको शरीरमा कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाएको पाइएको इम्पीरियल कलेज लन्डनका वैज्ञानिकहरुले बताएका छन्। उनीहरुका अनुसार अब ३ सय भन्दा बढीमा उक्त खोपको परीक्षण गरिनेछ।

पहिला जनावरहरुमा गरिएको परीक्षण सफल भएपछि आफूहरुले खोपको केहि मानवहरुमा परीक्षण गराएको इम्पीरियल कलेजका वैज्ञानिकहरुको दावी छ।
उक्त खोप परीक्षणको प्राध्यापक रोबिन शट्टकले नेतृत्व गरिरहेका छन्। उनका अनुसार अब सयौं मानिसहरुमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण हुनेछ। परीक्षणमा ७५ वर्ष माथिका केहि वृद्धहरु पनि सहभागी हुने उनले बताए।

इम्पीरियल कलेजका प्राध्यापक प्रोफेसर रोबिन शट्टकले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई आफू र आफ्ना साथी वैज्ञानिकहरूले खोप परीक्षणको कठिन प्रक्रिया पूरा गरिसकेका छन्। प्रारम्भिक परीक्षण पश्चात आफूहरु अर्को परीक्षणका लागि झनै उत्साहित भएको भएको शट्टकले बताए। आफूहरुले तयार पारेको खोप दिएका मानिसहरुमा खासै साइड इफेक्ट नदेखिएको उनको भनाई छ।

इम्पीरियल कलेजले तयार गरेको यो खोपले भाइरसमा आधारित आनुवंशिक कोडको कृत्रिम प्रजातिहरू प्रयोग गर्दछ। एक पटक यो मांसपेशिहरुमा प्रवेश गरेपछि शरीरका कोषहरुले कोरोना भाइरसमा विरुद्ध स्पाइक प्रोटीन बनाउन निर्देशनहरु प्राप्त गर्छन्। उक्त स्पाइक प्रोटीनले रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्दछ भने उक्त व्यक्तिको शरीरलाई कोभिड विरुद्ध लड्नलाई तयार बनाउँछ।

