कोरोना संक्रमितमा लक्षण, बितेको २४ घण्टामा अहिले सम्मकै बढी मृत्यु !

FILE PHOTO

काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमितको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा ४ जनाको ज्यान गएको हो। यस भन्दा अगाडी एकै दिन ३ जना भन्दा बढीको कोरोना संक्रमितको ज्यान गएको थिएन।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ज्यान गुमाउने सबै भन्दा पर्साका रहेका छन्। पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज-२ कै ६५ वर्षीय पुरुष र वीरगन्ज-११ स्थायी घर भई ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिला रहेको गौतमले बताए।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को लक्षणसहितका संक्रमित फेला पर्न थालेसँगै मृ-त्यु संख्या बढेको छ। दुई दिनमा मात्र ७ जनाले ज्यान गुमाएका छन्। जससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ।

कोरोना संक्रमण शुरु भएको कयौं महिना सम्म कोरोनाका लक्षण नदेखिएका बिरामी फेला पर्दै आएको भएता पनि अहिले भने लक्षणसहितका संक्रमित फेला पर्न थालेका हुन्।

पछिल्ला केहि दिनहरु देखि पर्सा, रौतहटसहितका जिल्लामा फेला परेका संक्रमितहरुमा लक्षण देखिएको छ। नयाँ सङ्क्रमितहरुमा उच्च ज्वरो, निमोनिया जस्ता लक्षणहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार नयाँ संक्रमितहरुमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिन थालेको छ।

संक्रमितमा कोरोनाको लक्षण देखिनुले जोखिम थपिएको स्वास्थ्यविद्हरु बताउँछन्। लक्षणविहीन संक्रमित भन्दा लक्षण भएका संक्रमितबाट भाइरस छिटो भाइरस सर्न सक्ने भएका कारण पनि यसले थप जोखिम बढाउने स्वास्थ्यविद्हरुको भनाई छ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७११:३९

पूर्वमन्त्री बाँस्कोटाले भने – ‘बेइमानी गर्न राजनीतिमा आएको हैन’