नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी रहेको छ।
वरिष्ठ नेता झलनाथ खनालसहित बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र प्रधान्मन्त्रीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि मंगलबार पनि ओली, प्रचण्ड र झलनाथबीच छलफल भएको थियो| उक्त दिनको लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले स्थगित गरेपछि प्रचण्ड र खनाल छलफलका लागि गएका थिए|
त्यसपछि, प्रधानमन्त्री तथा पार्टी अध्यक्षबिना नै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सहित १२ जना स्थायी कमिटी सदस्यका बीच छलफल भएको थियो| उक्त स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीसँग छलफल गरेर सहमति निर्माण गर्न प्रचण्डलाई जिम्मेवारी दिएको थियो। बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि त्यस यता दुई अध्यक्षबीच कुराकानी भएको थिएन।
प्रचण्ड र माधव नेपाल समूहले ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। स्थायी कमिटी बैठकमा पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ| तर, ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा रहेका छन्। यसै कारण एक महिनादेखि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।