काठमाडौँ – गत साउन १२ गते कपनको आकाशेधारामा रहेको एउटा खुला चौरमा भेटिएकी शिशु बारे नयाँ खुलासा भएको छ। उनलाई आफ्नै आमाले नै झाडीमा लगेर फ्याँकेको खुलेको छ भने त्यसपछाडीको रहस्य पनि अपत्यारिलो पाइएको छ।
![]()
अनुसन्धानमा खुले अनुसार शिशुकी आमा बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी महिला रहेकी छन्। काठमाडौँ आइपुगेपछि उनी काठमाडौंकै एक संस्थामा बसेको पाइएको छ। जन्मिएको शिशुलाई झाडीमा फ्याँक्ने देखि बालगृहले फेला पार्ने र पालन पोषणको जिम्मा लिने सम्मका कार्य नियोजित देखिएका छन्।
कसरी शिशु केयर बालगृहमा पुगिन् ?

नाम गोप्य राखिएकी एक महिला बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी थिइन्। काठमाडौँ आइपुग्दा उनी गर्भवती थिइन् भने उनले आफ्नो परिवारलाई खबर गरेकी थिइनन्। उनी काठमाडौंमा रहेको संस्थामा आश्रय लिई बसेकी थिइन्। संस्थामै हुँदा शिशुको जन्म भएको थियो। आफ्ना केहि सहयोगीमार्फत् महिलाले बालगृहकी संस्थापक पुष्पा अधिकारीलाई भेटिन् र नाटकीय ढंगबाट शिशु जिम्मा लगाउने योजना बुनिन्।

योजना अनुसार उक्त शिशुलाई कार्टुनमा प्याक गरेर चौरमा राखिन्छ। चौरमा रहेका बालगृहकै अन्य बालबालिकाहरुले उक्त कार्टुन भेट्छन् र उनीहरुले बालगृहमा खबर गर्छन्। यी बाल-बालिकाहरुलाई थाहा हुँदैन की त्यो पहिलानै योजना अनुरुपको नाटक मन्चन थियो। त्यसपश्चात बालगृहकी संस्थापक पुष्पा अधिकारीले प्रहरी नबोलाई मिडिया बोलाएर पालन-पोषणको जिम्मा लिएको घोषणा गर्छिन्।
प्रहरीको अनुसन्धान

शिशुलाई नाटकीय ढंगबाट बालगृहलाई जिम्मा लगाइएको बारे अहिले प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ। बालगृहकी संस्थापक पुष्पा अधिकारीले शिशु फाल्ने र लिने सम्बन्धमा बनेको योजना अनुरुप नै घटना भएको स्वीकारेकी छन्। विदेशबाट फर्केकी चेलीको दुख देख्न नसकेर आफू त्यस्तो योजनामा सहभागी भएको उनको भनाई छ। यधपी उक्त घटनामा पैसाको चलखेल भने नभएको उनी बताउँछिन्।
![]()
