काठमाडौँ – देशभरमा बुधबार ३८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३५९ जनाको पिसिआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित छ हजार १७४ रहेको बताए। बितेको तीन दिनमा मात्रै नेपालमा हजार जना भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। आइतबार पछि मात्र नेपालमा १२ सय ८२ कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्।
देशभरमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीरुमा कोरोना पुष्टि भएको हो ।
नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिराहा रहेको छ । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।
प्रवक्ता गौतमले सङ्क्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरे। उनले सकेसम्म भीडमा नजान र जानैपर्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् । यो समयमा कोही पनि व्यक्तिको घरमा पाहुना भएर नजान र अरुलाई घरमाघरमा नबोलाउन उनले अनुरोध गरे। उनले भने, “मेरो आफन्त वा साथीभाइ हो भन्नेभन्दा पनि सबैसँग दूरी कायम गर्नुपर्छ ।”

