विराटनगर – प्रदेश नं. १ मा बुधबार ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए ।

निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ/छ, धनकुटा, उदयपुर र ते¥हथुमका एक/एक जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८८७ पुगेको छ ।

प्रदेश नं. १ मा बुधबार १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एक/एक जनामा सङ्क्रमण देखिएको छ ।
मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक/एक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ ।
