‘भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा पनि नियन्त्रण हुँदैन’ – स्वास्थ्यमन्त्री

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले साझा शत्रुका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बताउनुभएको छ । बन्दाबन्दी खुकुलो गरेसँगै सङ्क्रमण बढिरहेको र वीरगञ्ज लगायत कतिपय स्थानमा कोरानाले दोहोर्याएर आक्रमण गर्न थालेकाले उच्च सतर्कता आवश्यक भएको मन्त्री ढकालले बताउनुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

गोरखापत्र लगायत विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफलमा मन्त्री ढकालले भारतमा कोरोना सङ्क्रमण नियन्त्रणमा नआएसम्म हामीले अब नियन्त्रण गर्याँै भनी ढुक्क हुने स्थिति नरहेको बताउनुभयो । पीसीआर परीक्षण बढाइरहेकोे र यो निरन्तर गर्ने कुरामा प्रतिबद्धता जनाउँदै छ लाख जनाको पीसीआर परीक्षण गर्ने पूर्वघोषित प्रतिबद्धता पूरा गर्दै आवश्यक परेमा त्योभन्दा बढी पनि परीक्षण गरिने मन्त्री ढकालले स्पष्ट पार्नुभयो ।

कोरोना सङ्क्रमण बढिरहेको र बन्दाबन्दीको सम्भावना रहेको आम बुझाइबारे स्पष्ट गर्दै मन्त्री ढकालले अब एकै स्वरूपको बन्दाबन्दी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको मोडालिटी बदलिन्छ । सीमा नाकामा कडाइ गर्नुपर्छ ।”

कोरोना सङ्क्रमणविरुद्धको साझा लडाइँमा सञ्चार क्षेत्रले रचनात्मक सहयोग गरिरहेको बताउँदै मन्त्री ढकालले ‘फ्रन्टलाइन’मा काम गर्ने जनशक्तिलाई प्रोत्साहन गर्ने गरी सामग्री सम्प्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमण विरुद्धको अभियानमा निजी क्षेत्रलाई पनि सँगसँगै लैजाने गरी मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले सङ्क्रमितको उपचारका लागि भेन्टिलेटरभन्दा अक्सिजनको मात्रा बढी प्रवाह हुँदा बिरामीको उपचार प्रभावकारी भएकाले सातै प्रदेशका डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट राख्ने कुरालाई प्राथमिकता दिइएको बताउनुभयो ।
भदौदेखि जनजीवनलाई थप सहज बनाउन अन्तर्राष्ट्रिय उडान र विद्यालय सञ्चालनको योजना बनिरहेको बेला सङ्क्रमण बढ्दै गएको छ ।

यस सन्दर्भमा स्वास्थ्य मन्त्रालयले बन्दाबन्दीको अवस्था साठी÷पैसट्ठी प्रतिशत मात्र खोल्न, सार्वजनिक यातायातमा पुनः जोर बिजोर प्रणाली लागू गर्न, १२ वर्षमुनिका बालबालिका र साठी वर्षमाथिका वृद्धवृद्धालाई घरबाहिर ननिस्कन, सीमा नाका प्रवेशबिन्दु २० बाट दसवटामा घटाउन र सीमाबाट स्वदेश फर्कनेहरू कम्तीमा सीमा क्षेत्रका बनाइएका क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने मापदण्ड बनाउन सुझाएको छ ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र डा. सुरेश तिवारीले स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण र यसविरुद्ध हालसम्म गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०२:१३

कोरोनाको अड्डा बन्दैछन् ठुला शहर: आइसियु र भेन्टिलेटरका संक्रमित बढे !