काठमाडौँ – बिहिबार काठमाडौं उपत्यकामा ८७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्लामा गरी ८७ जना संक्रमित थपिएका हुन्।
बिहिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा उक्त संख्यामा नयाँ संक्रमित भेटिएको जानकारी दिए। उनका अनुसार काठमाडौंमा ७६ , भक्तपुरमा १ र ललितपुरमा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
बिहिबार देशभर ३ सय ६० व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार ३ सय ८९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।