काठमाडौँ – दशैँ अगाडी विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने सम्भावना न्यून देखिएको छ। कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै दशैँ अगाडी विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने सम्भावना न्यून बनेको हो।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने सम्भावना न्यून रहेको बताए।
“जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन। जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।”,मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा खतिवडाले भने।
खतिवडाले तत्कालै हवाई जहाज, विद्यालय र लामो दूरीका यातायात खोल्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे। भदौ एक गते देखि खोल्ने भनिएका क्षेत्रहरु खोल्ने विषयमा विज्ञहरुसँग छलफल गरिने बताए।
उनले भने,”सार्वजनिक यातायात, हवाई सेवा र विद्यालय सञ्चालन गर्न सरकार उदार भएर निर्णय गर्ने स्थितिमा छैन। यसमा पनि विज्ञहरुको सुझाव लिएर निर्णय गर्छौं।”
यस्तै खतिवडाले तत्काल लकडाउन नहुने पनि बताएका छन्। उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने स्पष्ट पारे।
“अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन”,उनले भने।