कक्षा ११ को परीक्षा तत्काल नगर्न निर्देशन !

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम तत्काल सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै बोर्डले सरकारले अहिले सम्म विद्यालय पुनःसञ्चालनसम्बन्धि कुनै पनि निर्णय गरिनसकेको हुँदा कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम तत्काल सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको हो।

केही विद्यालयले कक्षा ११ को परीक्षाका कार्यक्रम सार्वजनिक गरेपछि विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण उत्पन्न भएपछि विद्यालयहरुलाई यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भए अनुसार कक्षा ११ का आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयको अनुकुलतामा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भएपनि हाललाई परीक्षा सञ्चालन नगर्न बोर्डले निर्देशन दिएको छ।

“कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएकोले सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।”,विद्यालयहरुलाई निर्देशन दिँदै सूचनामा भनिएको छ।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७०६:०७

अभिनेता अनमोललाई कोरोना सङ्क्रमणको आशङ्का, गराए टेस्ट!