काठमाडौँ – नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ ।
आज काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका सङ्क्रमित देखिएका छन् । काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना सङ्क्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । आजसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ३५३ रहेको छ । मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृ-त्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृ-त्यु भएको थियो । उनमा मधुमेहको समस्या थियो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृ-त्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृ-त्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार आज मुलुकभर छ हजार ५४४ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश नं १ मा ५११, प्रदेश नं २ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार १३२, गण्डकी प्रदेशमा २३७, प्रदेश नं ५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ रहेका छन् ।
पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार ५७४ जना कोरोनाका सङ्क्रमित भएका छन् । हालसम्म सात लाख २९ हजार ७४८ जनाको मृ-त्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार ३८४ जना निको भइसकेका छन् ।
नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ७५ रहेको छ । सङ्क्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ छन् । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ६२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ । काठमाडौँका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् ।
परिषद्का सदस्यसचिव प्रा डा प्रदीप ज्ञवालीले काठमाडौँका २३ सार्वजनिकस्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाएको पाइएको जानकारी दिए।
अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी चार हजार ५०२ जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको सङ्ख्या ७२ दशमलव एक र मास्क नलगाउनेको सङ्ख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिकस्थलमा जम्मा दुई हजार ७०३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत रहेका छन् ।
काठमाडौँ उपत्यकाका २३ सार्वजनिक स्थलहरु तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो । परिषद्ले साउन ८ गते छ जनाको विज्ञ समूह गठन गरी तथ्य सङ्कलनका लागि ३९ जना अनुसन्धान टोली खटाइएको थियो । अध्ययन प्रतिवेदन आजै स्वास्थ्य मन्त्रालयमा बुझाइएको डा ज्ञवालीले जानकारी दिए।