मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा, सप्तरीमा पनि थपियो !

सांकेतिक तस्विर

हेटौंडा – मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सप्तरीमा निषेधाज्ञाको अवधि थप

कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा लगाइएको निषेधाज्ञाको अवधि पुनःएक साताका लागि बढाइएको छ ।जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनःएक साताका लागि थप गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए।

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको हो । निर्णयअनुसार नेपाल राजपत्रमा तोकिएको अत्याश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसामान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बंैकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन जस्ता अत्यावश्यक सेवाबाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावत गर्न पाइनेछैन ।

उपरोक्त अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न, गराउन पाइनेछ । आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने व्यवस्था छ । सप्तरी जिल्लामा हालसम्म ५७६ जना सङ्क्रमित देखिएको र त्यसमध्ये राजविराज नगरपालिका–६ का एक पुरुष र रुपनी गाउँपालिका–५ का एक पुरुष गरी दुई जनाको मृत्यु भइसकेको छ । बढ्दो सङ्क्रमणका कारण सजगता अपनाउन, सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न निषेधाज्ञा लगाइएको प्रशासकीय अधिकृत ठाकुरले बताए।

आगामी मङ्गलबारको कृष्णाष्टमीलगायत कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफ्नै घरमा सुरक्षित साथ मनाउनसमेत प्रजिअ आचार्यले अनुरोध गरेका छन् ।

प्रकाशित : आइतबार, साउन २५, २०७७१४:१८

भारतीय विदेशमन्त्रीले बुद्ध भारतीय भनेपछि सरकारले जनायो यस्तो प्रतिक्रिया !