काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान भारतीय भनेर स्पष्ट रुपमा भनेका छन् । उनको भनाई यतिमा मात्रै रोकिएको छैन, उनले विश्वले समेत महात्मा गान्धी र गौतम बुद्धलाई भारतीय भनेर चिन्ने गरेको दुई पटक दोहोर्याएर भने । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो धारणा राखेका हुन् । ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’ सम्मेलनलाई सम्बोधनका क्रममा जयशंकरले भनेका छन् । जसको नेपालमा तिव्र रुपमा विरोध भएको छ ।
भारतीय विदेशमन्त्रीले गौतमबुद्ध महान भारतीय हुन् भनेर महात्मा गान्धीसँग दाजेका छन् । तर, नेपाल र भारतका सरकारले भने बुद्धको जन्म लुम्बिनीमा भएको भनेर मात्र विज्ञप्ती निकालेका हुन्
परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेर गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’
भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्धको जन्मका विषयमा भन्दा पनि उनि को हुन् भन्ने विषयमा अभिव्यक्ति दिएका हुन् । बुद्धको जन्मका विषयमा त्यो अभिव्यक्तिमा कहि कतै उल्लेख छैन । तर, परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा भने बुद्धको जन्म लुम्बिनीमा भएको कुरा लेखिएको छ ।
सरकारले विज्ञप्ती निकाल्ने वित्तिकै भारतीय विदेशमन्त्रालयको तर्फबाट पनि सो विषयमा प्रष्टिकरण आएको छ । जसमा विदेशमन्त्रीको अभिव्यक्ति गलत थियो भनेर कही पनि उल्लेख छैन । त्यहा पनि केवल भनिएको छ, बुद्धको जन्म लुम्बिनीमा भएको हो । ‘कुनै शंका छैन, गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् । जुन नेपालमा पर्छ’, विज्ञप्तीमा यतिमात्र भनिएको छ । जयशंकरले भनेको विषय र दुवै सरकारका विज्ञप्तीमा उल्लेख गरेको कुरा फरक फरक रहेका छन् । जन्मनु र नागरिक हुनु विषय फरक फरक हो । परराष्ट्र मन्त्रालय र भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तीमा गौतम बुद्धको जन्मस्थानको विषय मात्र उल्लेख छ ।
भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए । मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो । तर उनै मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए ।

