एसईईको नतिजा : ग्रेड सार्वजनिक गरिएन, त्रुटि सच्याउन पनिका आउन नपर्ने !

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले तोकेको समयभन्दा करिब दुई सातापछि परीक्षाफल प्रकाशित गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

बोर्डले शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी पठाएको विवरण संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको जनाएको छ । बोर्डले यो वर्ष इकाइले दिएको अंकलाई अक्षरांक पद्धतीमा प्रमाणीकरण गरेको कारण कुनै पनि विद्यार्थीको ग्रेडिङ सार्वजनिक नगरेको जनाएको छ ।

परीक्षा नियन्त्रक (एसईई) रामराज खकुरेलले अब वेवसाइट तथा विभिन्न माध्यमबाट परीक्षाफल हेर्ने विद्यार्थी आफैंले ग्रेड छुट्टयाउने काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले प्रमाणीकरण मात्र गरेकाले ग्रेड छुट्टयाउन आवश्यक भएन ।’

बोर्डले कोभिड–१९ का कारण भीडभाड हुन सक्ने भन्दै जीपीए सार्वजनिक नगरेको हो । बढी ग्रेड आएका विद्यार्थीलाई नाम चलेका विद्यालयले तान्ने प्रवृत्ति रोक्न ग्रेड प्वाइन्ट एभरेज (जीपीए) सार्वजनिक नगरेको हो ।

यो वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन भरेकोमा ४ लाख ७२ हजार ७८ हजार विद्यार्थीको मात्र प्रमाणीकरण भएको छ । १० हजार ९ सय ८ विद्यार्थीले परीक्षा दिएका थिएनन् ।

परीक्षाफल प्रकाशित गर्नुअघि बोर्डका अध्यक्ष र उपाध्यक्षसहित १३ जनाले सोमबार बिहान ९ बजेदेखि (नमुना कपी) डमीकपी हेर्नुका साथै परीक्षाको विश्लेषण गरेका थिए ।

दिनभर परीक्षाफल प्रशाशित गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल थियो । बोर्डले सबै तयारी भइसकेको अवस्थामा परीक्षाफल रोक्नु आवश्यक नभएको भन्दै ४ बजे बोर्ड बैठक बोलाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

यो वर्षदेखि विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र दिने निर्णय गरेको थियो । सोही आधारमा परीक्षाफल प्रकाशित भएको हो ।

बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ लाई ए, ७० देखि ७९ लाई बी प्लस, ६० देखि ६९ सम्म बी, ५० देखि ५९ सी प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनेलाई सी ग्रेड दिने व्यवस्था छ । तर सार्वजनिक रुपमा ग्रेड छुट्टयाइएको छैन ।

त्रुटि सच्याउन पनिका आउन नपर्ने
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा त्रुटि सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाएको छ । कोरोना संक्रमणको कारण देशका अधिकांश जिल्ला र स्थानीय तह लकडाउनको अवस्थामा रहेको र संक्रमण फैलन सक्ने भएपछि त्रुटि सच्याउन शिक्षा समन्वय इकाइमा निवेदन दिनुपर्ने भएको छ ।

विद्यार्थीले सोमबारदेखि ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटि सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले कोभिड–१९ का कारण भीडभाड हुने भएपछि त्रुटि सच्याउन निवेदन लिने व्यवस्था इकाइलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी गराउनुभयो ।

माध्यमिक शिक्षा परीक्षाको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा उल्लेख भएअनुसार त्रुटि सच्याउने व्यवस्था गरेको जनाएको छ । बोर्डले जारी गरेको विज्ञप्तिमा यो वर्ष नतिजा प्रमाणीकरणपछि पुनर्योग तथा पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी कार्य नहुने जनाएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७०२:३४

कोरोना सन्त्रासका कारण आधा देशमा निषेधाज्ञा: कतै लकडाउन, कतै सिल, कतै सेवा बन्द !