जसपामा मर्यादाक्रममा चर्काे विवाद: अध्यक्ष र मर्यादाक्रममा पहिलो हुनुपर्ने बाबुरामको अडान !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउने विषयमा विवाद भएको छ । साउन अन्तिम साता सम्पन्न जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै टुंगो लगाउन अधिकार दिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाइएको र आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन तथा नेताहरूको वरीयता टुंगो लगाउन अधिकार दिइएको हो ।

तर, सचिवालयभित्रै अधिकार बाँडफाँटको विषयलाई लिएर विवाद भएपछि अन्य काम ओझेलमा परेको जसपा स्रोतले जनाएको छ । अध्यक्षद्वय ठाकुर र यादवबीच जिम्मेवारी बाँडफाँटको बिषयमा विवाद भएको छ । एक जना अध्यक्ष पार्टी र अर्को अध्यक्ष संसदीय दलको नेता हुनुपर्ने अडानमा यादव रहेका छन् ।

संसदीय दलको नेतामा महतो हुने यसअघि भएको भद्र सहमति तोड्दै अध्यक्ष यादवले आफूले पार्टी पूर्ण रूपले हेर्नुपर्ने वा संसदीय दलको नेता हुनुपर्ने अडान राखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता डा. भट्टराई संघीय परिषद्को अध्यक्ष र मर्यादाक्रममा पहिलो हुनुपर्ने अडानमा छन् । तर, अध्यक्ष ठाकुरले मर्यादाक्रममा आफूनै पहिलो नम्बरमा हुनुपर्ने अडानले संघीय परिषद्को अध्यक्ष टुंगो लाग्न सकेको छैन ।

अन्य नेताको जिम्मेवारी बाँडफाँट, मर्यादाक्रम, पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएपछि उनीहरू आफ्नै लागि विवाद गरिरहेकाले समस्या भएको जसपा स्रोतको दाबी छ । संघीय परिषद्को अध्यक्षमा भट्टराईलाई ल्याउने सहमति भए पनि अहिले आएर अध्यक्षद्वयले नै संघीय परिषद् बैठकको अध्यक्षता गर्ने कुरा उठेको छ ।

यसअघि डा. भट्टराईले पार्टीको कार्यकारिणी समितिको पहिलो बैठकबाटै नेताहरूको मर्यादाक्रम, पदाधिकारी चयन, जिम्मेवारी बाँडफाँटलगायत विषयमा टुंगो लगाउने बताएका थिए । तर उनै भट्टराईलाई पूर्वसहमतिअनुसार संघीय परिषद्को अध्यक्ष हुनबाट रोक्ने प्रयास सचिवालयभित्र भइरहेको छ ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०२:०६

क्वारेन्टाइन र आइसोलेसनको खाना खर्चमा ‘गोलमाल’ !