काठमाडौँ – शनिबार मात्रै नेपाल आइपुगेका भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसद डा. सुब्रमनियन स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
विश्व हिन्दु संघ र वर्ल्ड हिन्दु फेडरेसनको संयुक्त आयोजना काठमाडौँमा शनिबार सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा आफ्नो धारणा राख्ने क्रममा भाजपाका प्रभावशालि नेता स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने धारणा राखेका हुन्।
गोष्ठीमा आफ्नो धारणा राख्ने क्रममा उनले इतिहाससँगै नेपालको भौगोलिक अवस्थाको कारण नेपाल हिन्दुराष्ट्र बन्नुपर्ने तर्क गरे। यस्तै वर्तमान अवस्थामा भारत र चीन पनि सकारात्मक रहेको हुँदा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने उनको तर्क छ।
शनिबार मात्रै काठमाडौँ झरेका उनले अन्तर्राष्ट्रिय गोष्ठीमा आफ्नो धारणा राखे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका छन्। दिल्ली फर्कनु अगाडी उनले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेका हुन्।