काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा २ सय जना भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परिक्षणबाट सोमबार २ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताए। यो संख्या अहिले सम्मकै उच्च हो।
सोमबार पुष्टि भएका नयाँ संक्रमितहरु काठमाडौँका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ गरी उपत्यकामा २२४ रहेको डा. जागेश्वर गौतमले बताए।
देशभर थपिए ७४३ जनामा कोरोना संक्रमित
डाक्टर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणबाट ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमध्ये १८ हजार ८०६ निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।