जनमानस अटेरी भएकै हो । नसुनेको भनौं भने टेलिफोन, मोबाइल, टिभी, रेडियो, अनलाइन, फेसबुक, पत्रपत्रिका जताततै त्यही कोरोनाकै कुरा छ ।
आखिर बेवास्ता किन भइरहेको छ– मैले पनि बुझ्न सकेको छैन । म अमेरिकामा पनि वेबिनार अन्तरक्रियामा संलग्न हुँदा, त्यहाँका विज्ञसँग कुरा गर्दा त्यहाँका कतिपय अमेरिकीले भाइरस पनि अमेरिकामा आउँछ र भन्ने टिप्पणी गरेको सुनाउँछन् । अमेरिकाका जनताले त त्यस्तो सोच्छन् भने नेपालका जनताले किन लापरबाही नगरून् !
नेपालमा प्रचार नपुगेको हैन, पाँच महिना यसैमा बिताइसक्यौं । यसको मूल जड के रैछ त भनेर मलाई पनि बुझ्न इच्छा छ । किन नमानेको होला? बल्लबल्ल मास्क लगायो भने चिउँडोमुनि, एक्लै बस्दा लगाउने, जब साथी भेटिन्छ बोल्नुपर्ने हुन्छ, त्यो बेलामा मास्क तल झुन्ड्याउने? यो देख्दा अचम्म लाग्छ । यो खालको समस्याको समाधान स्वयं व्यक्तिले नै खोज्नु जरुरी छ । भोक लाग्दा खानुपर्छ भन्ने ज्ञान भएका मानिसले रोगसँग जोगिन मास्क लगाउनुपर्छ, मानवीय दूरी कायम गर्नुपर्छ भन्ने सिक्न अब बाँकी छजस्तो लाग्दैन ।
कि त ट्राफिक प्रहरीले जस्तो सडकमा बसेर जेब्राक्रसिङबाट मात्र बाटो काट्नुस् भनेर माइकिङ गरेर बसेजस्तै, हरेक घरको चोकचोकमा मास्क यसरी लगाउनुस्, माक्स लगाएर मात्र हिँड्नुस् भन्ने र सिकाउने स्वयंसेवक बाटोमा बस्नुपर्ने पो हो कि जस्तो लाग्छ । जताततै प्रचार कोरोनाकै छ, तर धेरैले अनुशरण गरेको पाइन्न ।
लकडाउन खोलिसकेको अवस्थामा कन्ट्रयाक टे«सिङ गर्न पहिलाजस्तो सजिलो छैन । किनभने पहिला सीमित व्यक्ति सीमित ठाउँमा जान्थे । अहिलेको अवस्थामा दिनभरि त्यो व्यक्ति कति ठाउँमा गयो र कसकसलाई भेट्यो भनेर खोज्न त्यति सजिलो छैन । मैले विगतदेखि नै यिनै कुरा भन्दै आएको थिएँ । त्यो समय बितिसक्यो, अब स्वास्थ्य सुरक्षा सबैले अपनाउनुको विकल्प छैन ।
(नेपाल समाचारपत्रको लागि सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग भगवती तिमल्सिनाले गरेको कुराकानी)